
काठमाडाै । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको आवेदन तथा नवीकरण सेवा साउन १ गतेदेखि अनलाइनमार्फत सञ्चालन गर्ने भएको छ।
विभागले जारी गरेको सूचनाअनुसार अब सेवाग्राहीले अनलाइनबाटै आवेदन दर्ता, राजस्व भुक्तानी तथा आवश्यक विवरण भर्न सक्नेछन्। साथै National ID वा Nagarik App मा रहेको QR Scanner प्रयोग गरी व्यक्तिगत विवरण स्वतः (Autofill) भर्ने सुविधा पनि उपलब्ध गराइएको छ।
विभागका अनुसार सातै प्रदेशका लागि छुट्टाछुट्टै EDLVRS अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ। सेवाग्राहीले आफ्नो प्रदेशअनुसारको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
सेवा सम्बन्धी कुनै समस्या, गुनासो वा सुझाव भए विभागले उपलब्ध गराएका सम्बन्धित प्रदेशका इमेल र सम्पर्क नम्बरमा जानकारी गराउन सकिने उल्लेख गरिएको छ।
यातायात व्यवस्था विभागले नयाँ प्रणालीबाट सेवा प्रवाहलाई थप छिटो, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरेको छ।

धादिङ | बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाडखोला नजिकै निरन्तर पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार पहिरो खस्ने क्रम अझै जारी रहेकाले तत्काल सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको छ। पहिरो पूर्ण रूपमा रोकिएपछि मात्रै सडक खुलाउने काम सुरु गरिने जनाइएको छ।
यसैबीच, मुग्लिन तथा काठमाडौंबाट गन्तव्यतर्फ प्रस्थान गर्ने सवारीसाधन हाललाई नछुटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ। साथै, बाटोमा रहेका सवारीसाधनलाई पायक पर्ने सुरक्षित स्थानमा रोक्न तथा यात्रुहरूको खानपान र बसोबासको उचित व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
प्रहरीका अनुसार मौसम अनुकूल भएमा सडक सञ्चालनमा आउन करिब ९ देखि १० घण्टा लाग्न सक्ने अनुमान गरिएको छ।
यात्रु तथा चालकहरूलाई अनावश्यक जोखिम नलिन, सम्बन्धित निकायको सूचना पालना गर्न तथा वैकल्पिक योजना बनाएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।




