
काठमाडौं । काठमाडौं महानगरपालिका–१४, रविभवनस्थित ज्ञानकुञ्ज कलेज ले एसएलसी (SLC) २०८२ को नतिजामा ऐतिहासिक सफलता हासिल गर्दै शतप्रतिशत नतिजा ल्याएको छ।
शुक्रबार सार्वजनिक भएको एसएलसी परीक्षाको नतिजाअनुसार कलेजका परीक्षामा सहभागी सबै ९२ जना विद्यार्थी उत्तीर्ण भएका छन्। उत्कृष्ट नतिजासँगै कलेजले आफ्नो शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ।
कलेज प्रशासनका अनुसार १५ जना विद्यार्थीले ३.६१ देखि ४.०० सम्म जीपीए प्राप्त गरेका छन्। त्यसैगरी ५२ जना विद्यार्थीले ३.२० देखि ३.६० सम्म, २४ जनाले २.८० देखि ३.२० सम्म जीपीए हासिल गरेका छन् भने १ जना विद्यार्थीले २.५२ जीपीए प्राप्त गरेका छन्।
कलेजले यस सफलताको श्रेय विद्यार्थीहरूको अथक मेहनत, अनुशासन, लगनशीलता र समर्पणलाई दिएको छ। साथै दक्ष शिक्षक, अभिभावकको निरन्तर सहयोग तथा कलेजको गुणस्तरीय शैक्षिक वातावरणले पनि उत्कृष्ट नतिजा प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।
कलेज परिवारले यस गौरवपूर्ण उपलब्धिप्रति खुसी व्यक्त गर्दै यो सफलता संस्थाको इतिहासमा नयाँ कोसेढुङ्गा सावित भएको जनाएको छ। साथै एसएलसी उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्रा र उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेको छ।
ज्ञानकुञ्ज कलेजले आगामी दिनमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजाको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडाैं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा सह-आयोजक क्यानडाले कतारमाथि ६-० को शानदार जित दर्ता गर्दै विश्वकप इतिहासकै पहिलो विजय हासिल गरेको छ।
भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा क्यानडाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै कतारलाई दबाबमा राखेको थियो। क्यानडाको जितमा स्टार फरवार्ड जोनाथन डेभिडले ह्याट्रिक गर्दै खेलका नायक बने।
खेलको १६औँ मिनेटमा साइल लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। त्यसपछि जोनाथन डेभिडले दुई गोल थप्दै पहिलो हाफमै टोलीलाई ३-० को बलियो अवस्थामा पुर्याए।
दोस्रो हाफमा कतारका दुई खेलाडीले रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै क्यानडाले थप तीन गोल गर्यो। नाथन सालिबाले एक गोल गरे भने कतारका मोहम्मद अल-मन्नाइबाट आत्मघाती गोल भएको थियो। खेलको अन्त्यतिर डेभिडले आफ्नो तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र क्यानडाको ऐतिहासिक जित सुनिश्चित गरे।
यद्यपि, क्यानडाको जितको खुसीबीच मिडफिल्डर इस्माएल कोने गम्भीर घाइते भएका छन्। उनी खुट्टामा चोट लागेपछि स्ट्रेचरमार्फत मैदानबाट बाहिर लगिएका थिए। उनको अवस्थाबारे थप परीक्षण भइरहेको जनाइएको छ।
५२ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न खेल क्यानडाली फुटबल इतिहासकै स्मरणीय रात बनेको छ। यसअघि विश्वकपमा जितविहीन रहेको क्यानडाले पहिलो पटक तीन अंक जोड्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ।
क्यानडाले अब आफ्नो अन्तिम समूह चरणको खेल स्विट्जरल्याण्डसँग खेल्नेछ ।
काठमाडौं । नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुशीले ३० जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको तत्वावधानमा सञ्चालन भएको ३९औँ समूहअन्तर्गत उक्त तालिम सम्पन्न भएको हो।
तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा केन्द्रका प्रहरी उपरीक्षक सन्तोष आचार्यले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै विपद् उद्धारकर्मीको रूपमा खटिँदा संवेदनशील, साहसी र अग्रसर भई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेशबहादुर बरालले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै वैशाख ३ गतेदेखि सञ्चालन भएको ४५ कार्यदिने तालिममा प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ३ जना तथा प्रहरी जवान २३ जना गरी कुल ३० जना प्रशिक्षार्थी सहभागी रहेको जानकारी दिनुभयो।




