
काठमाडाै । एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको खरिदमा ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् । एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट प्राप्त गर्ने भएका हुन्।
यो अफरका लागि एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
रु ९९ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक उपभोग गरिरहेका एनसेलका प्रिपेड ग्राहक र रेन्टल प्लान सक्रिय रहेका पोस्टपेड ग्राहकहरू यो छुट योजनाका लागि योग्य हुन्छन् । यस योजना अन्तर्गत खरिद गरिने कुनै पनि सामानको डेलिभरी नेपालभर हुने व्यवस्था अल्टिमा लाइफस्टाइले गरेको छ ।
एनसेल एपबाट मात्र सञ्चालनमा ल्याईएको यो योजना अन्तर्गत एनसेल ग्राहकहरूले अल्टिमाको लाइफस्टाइलका साउन्ड बार, स्पिकर, वायरलेस एअर बड, स्मार्टवाच, पावर ब्याङ्क लगायतका ग्याजेटहरूमा विशेष छुट प्राप्त गर्न सक्छन्।

यो योजनाको लाभ उठाउन ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर पार्टनर्ड सर्भिसेसमा गई अल्टिमा लाइफस्टाइल छान्नु पर्दछ । प्रयोगकर्ताको नाममा दर्ता भएको मोबाइल नम्बर मार्फत स्वतः योग्यता जाँच हुन्छ र ग्राहकले छुट सहितको तिर्नुपर्ने मूल्य एनसेल एपमै देखिन्छ ।
“हामी हाम्रा ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६०% सम्म छुट प्रदान गर्ने योजना सञ्चालनमा ल्याउन पाएकोमा उत्साहित छौँ,” एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने। “अल्टिमा लाइफस्टाइलसँगको यो सहकार्यले हाम्रा ग्राहकहरूको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाउन मद्दत गर्दछ।”
यो योजनाको लाभ उठाउन योग्य नभएका ग्राहकहरूले रु ९९ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गर्न सक्छन् र आफ्नो आवश्यकता अनुरुपमका ग्याजेट विषेश छुटमा लिन सक्छन् । योजनाका लागि योग्य रहेको प्याक वा रेन्टल प्लान सक्रिय रहेको अवधिभर यो छुटलाई ग्राहकहरूले पटक–पटक उपयोग गर्न सक्छन् ।
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ आगामी जुन ११ देखि सुरु हुँदैछ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यस संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा हेरिएको छ।
यसपटक पहिलो पटक विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहनेछ। यसअघि ३२ टोली सहभागी हुँदै आएका थिए। टोली संख्या बढेसँगै खेलको संख्या पनि वृद्धि भएको छ। प्रतियोगिताभर कुल १०४ खेल खेलाइनेछन्।
फिफाले सहभागी सबै राष्ट्रका अन्तिम टोली घोषणा गरिसकेको छ। प्रतियोगितामा विभिन्न देशका १,२४८ खेलाडी मैदानमा उत्रिनेछन्। विश्व फुटबलका चर्चित स्टार खेलाडीदेखि उदाउँदा युवा प्रतिभासम्मको सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
यस विश्वकपमा भिडियो सहायक रेफ्री (VAR) प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाइएको छ भने खेललाई छिटो र निष्पक्ष बनाउन केही नयाँ नियमहरू समेत लागू गरिएका छन्।
फुटबल समर्थकहरूको नजर अहिले अर्जेन्टिना, ब्राजिल, फ्रान्स, इंग्ल्याण्ड, स्पेन र जर्मनीजस्ता दाबेदार टोलीमाथि केन्द्रित छ। साथै युवा खेलाडीहरूको प्रदर्शन पनि विशेष चासोको विषय बनेको छ।
तीन देशमा फैलिएको आयोजनाका कारण विश्वभरका करोडौं फुटबल प्रेमीले ऐतिहासिक र भव्य विश्वकपको अनुभव गर्न पाउने अपेक्षा गरिएको छ। विश्व फुटबलको नयाँ च्याम्पियन को बन्छ भन्ने प्रश्नको उत्तर आगामी एक महिनाभन्दा बढी समयसम्म चल्ने प्रतिस्पर्धाले दिनेछ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीको संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार दुई चरणमा अधिवेशन आयोजना गरिएको हो।
पहिलो चरणअन्तर्गत शनिबार ३६ जिल्लामा अधिवेशन सञ्चालन भइसकेको छ भने दोस्रो चरणमा आइतबार २९ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ। देशका विभिन्न प्रदेशका जिल्लाहरूमा एकसाथ अधिवेशन सञ्चालन गरेर पार्टीले संगठनलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।
रास्वपाका अनुसार पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ जिल्लामध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने योजना रहेको छ। आन्तरिक विवादका कारण बारा जिल्लाको अधिवेशन भने आगामी जेठ २६ गतेका लागि सारिएको छ।
पार्टीका महामन्त्री कबीन्द्र बुर्लाकोटीले आगामी जेठ २६ गतेदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन प्रक्रिया पनि सुरु हुने जानकारी दिएका छन्। जिल्ला तहदेखि निर्वाचित नेतृत्व चयन गर्दै संगठनलाई संस्थागत र सुदृढ बनाउने अभियानअन्तर्गत अधिवेशन सञ्चालन गरिएको पार्टीले जनाएको छ।
रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै संगठन विस्तार र नेतृत्व चयन प्रक्रियालाई प्राथमिकतामा राखेको बताएको छ। पार्टी नेतृत्वले जिल्ला तथा प्रदेश अधिवेशनमार्फत संगठनलाई लोकतान्त्रिक र व्यवस्थित ढंगले अघि बढाउने विश्वास व्यक्त गरेको छ।
चेन्नई, भारत । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकरबिच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।
नेपालमा नयाँ सरकार गठन भएपश्चात् दुई देशका विदेश मन्त्रीबिच भएको यो पहिलो औपचारिक र महत्त्वपूर्ण राजनीतिक भेटघाट हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्केकै दिन अचानक परराष्ट्र मन्त्री खनाल त्यहाँ भ्रमणमा जानुलाई कूटनीतिक क्षेत्रमा रुचिका साथ हेरिएको छ
यस अघि भारतीय सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटेपछि हिजो विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् । गत चैतको अन्तिमतिर मौरिससमा सम्पन्न नवौँ इन्डियन ओसन कन्फरेन्स (भारतीय महासागर सम्मेलन) को साइडलाइन भेटवार्तापछि यी दुई नेताबिच फेरि औपचारिक भेटघाट भएको हो ।
बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन शाह र नेपाली जनताको तर्फबाट भारत सरकारलाई शुभकामना सन्देश दिँदै नेपालको नयाँ सरकार सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट जनादेशका साथ आएको स्पष्ट पारेका थिए । उनले भने, ‘हामीसँग कुनै पुरानो बोझ वा विवाद छैन, केवल हाम्रा नजिकका छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग वास्तविक रूपमै रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ संकल्प छ ।’
नेपाल र भारत दुई देश मात्र नभएर एउटा गौरवशाली र प्राचीन सभ्यताका हिस्सेदार भएको उल्लेख गर्दै उनले यस ऐतिहासिक बन्धनलाई अब आधुनिक विकासमुखी साझेदारीमा बदल्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो हालैको भारत भ्रमणका क्रममा ‘हिन्दुस्तान टाइम्स’ मा लेखेको आलेखका आधारमा नेपाल सरकार अगाडि बढ्न चाहेको धारणा पनि राखेका थिए ।
विपतको समयमा र हालैको पश्चिम एसिया संकटका बेला भारतले पुर्याएको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै मन्त्री खनालले इन्धन र मलको निरन्तर आपूर्तिका लागि भारत सरकारलाई धन्यवाद दिए ।
भारतीय विदेश मन्त्री जयशंकरले नेपाल र भारतबिच यो अनुपम सम्बन्ध आपसी विश्वास, आपसी सम्मान र साझा समृद्धिको जगमा उभिएको बताए । कनेक्टिभिटी, ऊर्जा, व्यापार र आर्थिक रूपान्तरण जस्ता बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउन भारत सधैँ प्रतिबद्ध रहेका धारणा राखेका थिए ।
यो द्विपक्षीय बैठकले विगतका सहयोग र प्रगतिको समीक्षा गर्नुका साथै आगामी दिनमा दुई देशबिच हुनसक्ने उच्चस्तरीय भ्रमणहरूका लागि महत्त्वपूर्ण आधार तयार पारेको उनले बताए । दुवै देशका मन्त्रीहरूले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सबै तहमा अर्थपूर्ण र उद्देश्यपूर्ण रूपमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन l




