
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने भारत घर भएका ३१ वर्षीय अमिर उल्ला मिया, पोखरा महानगरपालिका-१७ बस्ने मोरङ घर भएकी २१ वर्षीया महिला र पोखरा महानगरपालिका- ८ बस्ने सिन्धुली घर भएकी ३१ वर्षीया महिला रहेका छन् ।
पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा पीडितहरूलाई विभिन्न प्रलोभन देखाई खानबस्न सुविधा सहित राम्रो तलबमा होटलको काममा लगाई दिन्छु भनी अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडाै । नेपाल सरकारले सबै सरकारी निकाय तथा तहहरुका कार्यालयले संचालन गर्ने वेबसाइटमा सम्बन्धित कार्यालयकाे विवरण अद्यावधिक गर्न अनुराेध गरेकाे छ ।
साेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले एक सुचनामा जारी गर्दै साे अनुराेध गरेकाे हाे ।
कतिपय निकायमा फाेन नलाग्ने, फाेन नउठ्ने लगायतका गुनासा आएपछि यसलाइ तत्काल समाधानका लागी सरकारले सुचना जारी गरेकाे हाे ।
तत्काल सम्बन्धित निकायकाे कार्यालय प्रमुख, सुचना अधिकारी र प्रवक्ताकाे नाम, इमेल र फाेन नम्बर वेबसाइटमा प्रविष्ट गरी नागरिकबाट प्राप्त गुनासाेकाे तत्कालै सम्बाेधन गर्ने र गराउने गरि काम गर्न आदेशात्मक अनुराेध गरिएकाे छ ।

काठमाडाै । जल तथा माैसम विभाग, माैसम पुर्वानुमान महाशाखाले आगामी ३ दिन अत्याधिक गर्मी हुने संकेत जारी गरेकाे छ ।
महाशाखाद्वारा जारी बुलेटिनमा भनिएकाे छ: देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी तथा मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका तराईका केही स्थानहरूमा ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरूमा आगामी ३ दिन सम्म मध्यम तातो लहर (Heat wave) को सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
काठमाडौँ । कीर्तिपुर रगशालामा भएकाे टी २० आई सिरिज अन्तरगत पहिलो खेलमा नेपाल पराजित भएको छ । साेमबार सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो ।
१० ओभरमा ७८ रनकाे लक्ष्य पाएकाे युएइले ८.५ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेकाे थियाे ।
साे खेलमा कप्तान मुहम्मद वसिमले सर्वाधिक ३३ रन जोडे। १५ बल खेलेका उनले ३ चौका तथा ३ छक्का प्रहार गरे । यस्तै अलिशान शराफुले १८ तथा अक्षदीप नाथले अविजित १७ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ ओभरमा ८ रन खर्चेर तीन विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन जोडेको अवस्थामा खेल रोकिन पुगेको थियो । वर्षाकाे कारण खेल प्रभावित भएपछि त्यसलाइ डिएल मेथर्डका १० ओभरमा झारिएकाे थियाे ।
उक्त सिरिजकाे अन्तिम खेल आज हुनेछ ।
पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा भएको ट्याक्टर दुर्घटनामा परेर रैनादेवी छहरा–४, अमलाबासका विशाल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भुवनपोखरीको झिरवासबाट सामान छाडेर छहरातर्फ आउँदै गरेको लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक अमलाबासकै चन्द्र बहादुर बगाले सामान्य घाइते भएका छन् ।
प्रहरीले दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।




