
काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने उद्देश्यले राखिएका प्रचार प्रसार गर्ने बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका सामग्री तीन दिनभित्रमा हटाउन सम्बन्धित सबै व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई निर्देशन दिएको छ । अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्ने विभागले जनाएको छ ।
विभागले आज सूचना जारी गरी श्रम स्वीकृतिसम्बन्धी कार्य प्रचलित कानुन बमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरुबाट मात्र हुने व्यवस्था रहेको उल्लेख गर्दै सो काममा भ्रम सिर्जना गर्ने गरी हुने गरेका त्यस्ता लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको छ ।
त्यस्तै सुरुदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवार भने गौरी कुमारी यादवलाई दिइएको छ ।
रामजी सप्तरी- २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने गौरी महोत्तरी- ४ बाट निर्वाचित भएकी हुन् ।
नवनियुक्त दुई मन्त्रीहरूले आजै शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन् ।
काठमाडौं । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी विजयी भएकी छन् ।
रुबी कुमारीलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा २२९ परेको छ । त्यस्तै विपक्षमा २२ मत परेको छ भने तटस्थमा २२ मत परेको थियो । मतदानमा २५६ सांसद सहभागी भएका थिए ।
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकस क्षेत्रमा गए राति बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
राति करिब २ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ २ ख ४३७६ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका मध्ये केहीलाई चन्द्रौटास्थित आधाभुत अस्पताल र सजिवनी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने २ जना सजिवनी अस्पतालमा उपचाररत रहेका छन् । अन्य घाइतेहरूको अवस्था सामान्य रहेकोले उपचारपछि डिस्चार्ज गरिएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार सडकमा आएको छाडा चौपाया जोगाउने प्रयास गर्दा बस अनियन्त्रित भई दुर्घटना भएको चालकले बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १७ र डिजेल मट्टितेलमा २५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।
मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर २१९ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर २०७ पर्ने भएको छ ।
त्यस्तै निगमले एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ र हवाई इन्धन आन्तरिक तर्फ ६ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । मुल्य वृद्धिपछि एलपी ग्यासको प्रति सिलिन्डर पुराको २०१० र आधाको १००५ पर्ने भएको छ ।
सरकारले ५० प्रतिशत भन्सार छुट र पूर्वाधार विकास कर छुट दिदा पनि पाक्षिक रुपमा १० अर्ब २१ करोड ९१ लाख घाटा हुने अवस्था रहेको र हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर १६.६५ रुपैयाँ, डिजलमा १०९.५ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको बताएको छ ।
काठमाडाैं । एनसेलले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रुपमा घटाउँदै आफ्ना प्रिपेड ग्राहकहरुका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल, र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरु रहेको छन् जसले ग्राहकहरुलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्दछ ।
कम्पनीले यसअघि प्रदान गर्दै आएको रु १९९९ को कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाहरुको मुल्य ६५ प्रतिशतले घटेको छ । कर सहित रु ६९९ शुल्क पर्ने यो कम्बो प्याकको समयावधी २८ दिन रहेको छ ।
कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँच यो प्याकका मुख्य विषेशताहरु हुन् ।
ग्राहकले सजिलै एस्ट्रिक्स१२३ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप वा नजिकैको एनसेल सेन्टर वा एनसेल पसलबाट पनि यो प्याक लिन सकिन्छ ।
“कनेक्टिभिटीको महत्व र दूरसञ्चार सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै, नयाँ वर्ष २०८३ को अवसर पारेर, हामीले अनलिमिटेड डेटा र कलसहितको यो प्याक सञ्चालनमा ल्याएका छौं । यो विशेष प्याकले सेवाको लागत थप घटाउँदै ‘बेस्ट भ्यालु’ प्रदान गर्दछ र ग्राहकहरूको जीवनलाई नन् स्टप र डिजिटल बनाउँदै सधैं अन रहन सहयोग पुर्याउने विश्वास लिएका छौं,” एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने । नेपाली उपभोक्ताहरूलाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै यो प्याक सञ्चालनमा ल्याएको र यसले विभिन्न सेवा सुविधाहरु अनलाईनबाटै उपलब्ध गराउने सरकारको योजनामा मद्दत गर्ने दत्ताले बताए ।
अनलाइनमार्फत कारोबार, किनमेल, वर्क फ्रम होम, पढाई, गेमिङ्ग वा मनोरञ्जन सबैका लागि डेटा सेवाको महत्व धेरै रहन्छ । यो प्याकले मनोरञ्जनाका लागि ग्राहकहरुलाई लायन्स गेट प्लेका विभिन्न प्रकारका सामग्रीहरूमा पहुँच सुनिश्चित गर्दछ । यसमा हलिउडका हिट फिल्महरु देखि लिएर, टिभी सोहरु, लायन्स गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरु, वृत्तचित्रहरु लगायतका सामाग्रीहरु रहेका छन् जसले ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दछ ।
लायन्स गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर साथै एमेजोन फायर टिभी स्टिकमार्फत डाउनलोड गर्न सकिन्छ ।




